March 3, 2015
प्यारी आमा ढोग, आजको मितिसम्म तपाईको अपार माया र भगवानको कृपाले सन्चो आरामै छु । तपाईंलाई पनि सन्चै छ भन्ने आशा छ । साथै जिन्दगी भर तपाइको मुहारमा खुसी छाइरहोस भन्ने भगवानसँग प्रार्थना सधै गरिरहेछु ।
आमा खासै नयाँ नौलो कुरा त केहि पनि छैन । इन्टरनेटको जमानामा दैनिक कुराकानी हुँदा हुदै पनि यो पत्र कोरिरहनु त जरुरी थिएन नै तर पनि आज पत्र मार्फत तपाईसँग खोल्न नसकेको मेरो वर्तमानलाई यही पत्रमार्फत छताछुल्ल पार्दैछु ।
आमा विज्ञान तथा प्रविधिले संसारलाई नियाल्न सेकेन्ड भर नलाग्ने भैसकेको छ र पनि तपाईसँग छुट्टिएर अलग्गै बस्नुको पीढा अहिले परदेशबाट महसुश गरिरहेको छु । जब मैले जापानको सपना बुन्न सुरु गरे । त्यसै दिन देखि देखिएको तपाईको मलीन मुहारले आज पनि मलाई वेदनाले जलाईरहेको छ । तर पनि जापानको सपनाले दौडाइरहेको मेरो मनलाई थेग्न सकिन र तपाईको खुसी भन्दा बढ्ता मेरो मन सपना दौडिए ।
आफ्नो खुट्टामा उभिने होडबाजीले मलाई भविश्यप्रति सोच्न गम्भीर बनायो र तपाईका खुसीलाई बुझ्नै सकिन । अहिले पीडा र आत्मग्लानीले सताउँछ र रुदै आफैसँग आफैलाई सोध्ने गर्छु ‘जापानमा शरण खोज्दै किन भौतारिदै छु ।’
म मा अधिक कमाउने लहड चलेकै कारण अहिले आफ्नो देश फर्कन सक्ने अवस्थामा छैन । सबैले शरणार्थी भन्छन् । कुन मुख लिएर जाउ मेरो देश ? म त्यसबेला नै गलत थिए जुनबेला मैले तपाईको आँसुको मुल्य बुझ्न सकिन, म आफ्नै कारण जन्जिरमा फसे ।
एउटा स्वाभिमानी नेपाली भनेर म विगतमा जसरी ठाडो शीर पारेर हिड्थे, आज अरुका सामु पुग्दा एकाएक शिर निहुरिन्छ । लाग्छ अनायासै मन बहकिएछ ।
आमा, हुन त म जुन उद्देश्यले जापान आएको थिए, मैले त्यो बाटो त मोडी सकेको छु नै । मैले तपाईंलाई जुन सपना देखाएको थिए त्यो पुरा गर्ने बाटो हिंड्न नसकेकोमा म कसरी तपाईसँग माफी मागौं, नाजवाफ भएको छु । मसँग कुनै तर्क नै छैन जसले म तपाईलाई सम्झाउन सकौं ।
हुन त जब म जापान आए परिवारको एउटा भरोसा बनेको छु । त्यसैले आर्थिक जिम्मेवारी मेरो काँधमा आउनु स्वाभाविक थियो नै तर पनि मैले पछिल्लो समय पैसाको पछि दौडदा बाटो बिराए छु । यो कुरा मैले फोनमा भन्ने आँट नै आएन र आज यो पत्र मार्फत खोतल्ने जमर्को मात्रै गरेको हुँ । सायद, यो पत्र पढेपछि तपाईंले मलाई गाली गर्नुहुन्छ होला । तर यो पत्रले म जस्तै बाटो बिराएका थुप्रै नेपालीका अभिभावक आफ्नो सन्तानको जापान बसाइको विषयमा खोजी गर्ने छन् र नयाँ आउनेहरुले बाटो विराउने छैनन् भन्ने उद्देश्यले लेख्ने कोसिस हो मेरो ।
आमा, म अहिले जापानमा शरणार्थी बनेर बसेको छु । मलाई थाहा छ यो खबर सुनेपछि तपाईं दुःखी हुनु हुनेछ र म सँग रिसाउनु हुनेछ । हो आमा आज सम्म मैले तपाईलाई भन्न सकेको थिइन । सधै टारी रहे । बाबु पढाइ कस्तो चल्दै छ भनेर तपाईंले सोध्दा मन मनै रुन्थे । तर पनि तपाईलाई ढाट्ने गर्थे र भन्थे ठिकै छ भखरै कलेजबाट फर्केको । जन्म दिने आमालाई ढाटेकोमा पछुतो लाग्दथ्यो ।
हो आमा आज बाटो बिराएकै कारण दुःखी छु । त्यो भन्दा बढी मेरो देश प्रति गद्दारी गरेको महसुस हुन्छ । सबैभन्दा पुछुतो त दिदीको बिहेमा आउन नपाउँदा लागेको छ । दिदीले रुदै गरेको त्यो अनुरोधलाई कसरी सम्झौ ? तर पनि दिदीलाई पनि ढाट्न बाध्य थिए । सायद मेरा बाध्यताहरुलाई बुझ्नुहुनेछ । सन्तानका हजार गल्तीलाई क्षमा गर्ने बिशान मुटु हुने आमाले मेरो यो भुललाई माफ गर्नुहुनेछ भन्ने दरिलो विश्वास लिएको छु ।
दिदी र तपाईंहरुलाई त कलेजले छुट्टी दिएन भनेर ढाट्न सफल भए तर आफ्नो मनलाई ढाट्न सकिन । हो आमा आज भोलि मेरो जापान बसाई आधाआधी दिन पछुतो मै बित्ने गर्छ ।
हुन त जापानको दुःखको बयान गरेर साध्य नै छैन त्यही दुःखै दुःखको बिचमा दलालको लहैलहैमा लागेर शरणार्थी बने । ठूला नेताका छोरा छोरी, जापानमा रहेका ठूला ठालुका परिवार, काठमाडौंमा गगन चुम्बी महल हुनेहरु पनि शरणार्थी बनेको देखेपछि मैले पनि मन थाम्न सकिन र लाखौ कमाउने धुनमा दलाल मार्फत मैले शरणार्थी भएको दाबी गर्दै निबेदन हाले । प्रक्रियामा प्रवेश गर्दा खुसी ज्यादा र दुःखी कम थिए । जब बुझ्दै गए । गलत बाटो तय गरेकोमा पश्चाताप गरिरहेको छु । म छिट्टै नेपाल फर्कने सोचमा छु । यस बिचमा मैले जे जति कमाएको छु । त्यो सबै सामाजिक काममा खर्चने निधो पनि गरिसकेको छु ।
मेरा धेरै साथीहरुले पनि यो बाटो अपनाएकोले मैले त्यो समय यो विषयमा धेरै सोच्न र परिवारको अनुमति लिन जरुरी ठानिन । यो नै मेरो मुख्य कमजोरी साबित भयो ।
उही तपाईको परदेशी छोरा अनुप
No comments:
Post a Comment