Showing posts with label गेट वेल सुन सिन्धुपाल्चोक. Show all posts
Showing posts with label गेट वेल सुन सिन्धुपाल्चोक. Show all posts

Thursday, January 21, 2016

गेट वेल सुन सिन्धुपाल्चोक

माघ ७, २०७२- अचेल बालबालिकालाई घरको चित्र बनाउन लगायो भने पालले बेरेको छाप्रो बनाउँछन्, कसैले भत्किएको धरहरा त कसैले भूकम्पले पुरिएको स्कुल । चाकुपाटस्थित एमक्युब ग्यालरीमा चित्रकार मनीषलाल श्रेष्ठ केही दिनअघि बालबालिकाका यस्तै चित्रहरू देखाइरहेका थिए । भूकम्पलगत्तै बालमनोविज्ञानमा आर्ट थेरापी गराउने उद्देश्यले उनी लामो समयदेखि कार्यरत छन् ।
‘गेट वेल सुन’ थिममा उनले भूकम्प प्रभावित विभिन्न पाँच जिल्लामा पुगेर बालबालिकाको अनुभव रंगमार्फत संगालेका हुन् । जुन उनले यति बेला आफ्नै ग्यालरीमा ल्याएका छन् । विपत् प्रभावित बालबालिकाको मनोविज्ञान बुझ्न कलाले ठूलो सहयोग गर्छ ।
यही उद्देश्यका साथ मनीषले काभ्रे, सिन्धुपाल्चोक, ललितपुर, काठमाडौं, भक्तपुरलगायत जिल्लामा कला कार्यशाला गरेका छन् । उनको तरिका अलि फरक छ । स्थानीय स्तरमा पाइने प्राकृतिक रंगबाट नै चित्र कोर्न बालबालिकालाई बढी जोड दिन्छन् ।
कोइला, अबिर, माटो, पिठोको माडजस्ता घरेलु रंग पोतेर बालबालिकाले चित्र कोरेका छन् । ‘गेट वेल सुन’ कार्यक्रमअन्तर्गत मनीष एक सातापछि लगत्तै काभ्रे जाँदै छन् । यो कार्यक्रमअन्तर्गत भूकम्प प्रभावित बालबालिकाले चित्रमार्फत मनोभाव प्रकट गर्नेछन् ।
यसैअन्तर्गत उनले शनिबार सहयोज जुटाउन हस्तकला र केहि चित्रकला प्रदर्शनीमा पनि राखेका थिए । एक दिनका लागि राखिएको प्रदर्शनीमा उनले सक्दो राहत संकलन गर्ने प्रयास गरे । काठमाडांैका बालबालिकाले कोरेका चित्र भने ग्यालरीमा प्रदर्शनी जारी छ ।
पेपर र इंकले सजिएका चित्रहरूमा बालबालिकाले धरहरा, स्वयम्भूजस्ता ऐतिहासिक सम्पदा कोरेका छन् । ‘तर, काठमाडौं बाहिरका बालबालिकाले चाहिँ प्राय: छाप्रो बनाउँछन्,’ मनीषले अनुभव साटे, ‘हेलिकप्टरले राहत ल्याएको दृश्य नि पाएँ केही चित्रमा ।’
बालबालिकालाई खुसी बनाउन चित्रकला प्रभावकारी हुने उनले दाबी गरे । अब भने उनको कार्यक्रम ‘गेट वेल सुन मिसन सिन्धुपाल्चोक’ हुनेछ । त्यहाँका सबै गाविसमा उनले आर्ट थेरापी चलाउनेछन् ।
प्रकाशित: माघ ७, २०७२